साइँला दाइको चङ्गा

Paper airplane flying. clipping path

 

त्यतिबेला हामीले चङ्गा मात्र होइन, साइँला दाइको भविष्य पनि उडाएछौँ । सबै किताब र कापीहरू चङ्गा बनाएर उडाएपछि साइँला दाइ स्कुल जानै छाडे । उनले प्राथमिक तह पनि पुरा गरेनन् । यसको परोक्ष दोषी म आफूलाई पनि पाउँछु ।

मेरा जेठाबा (बुबाका जेठा दाइ) का साइँला छोरा मेरा दौँतरी थे । मलाई असाध्यै माया गर्थे । उमेरले एकाध वर्ष जेठा भएका हुनाले म उनलाई साइँला दाइ भन्थें । स्कुल छुट्टी भएका दिन म कैयौं दिन उनी सँगै बिताउँथे । मलाई साइँला दाइसँग समय बिताउन असाध्यै रमाइलो लाग्थ्यो । मुख्य दुई कारणले म उनीसँग झ्यामिन्थेः  परेवाको सूप र चङ्गा । जेठीआमालाई कर गरेर परेवाको सूप बनाउन लगाउँथे । परेवाको सूपसँग च्याँख्लाको भात खाएपछि हामी लाग्थौँ चङ्गा उडाउन डाँडा तिर ।

 

उनीसँग चङ्गा उडाएको पल भने मलाई धेरै सम्झना आउँछ । कागजलाई दोबारेर हवाइजहाजको आकारमा बनाइने कागजी हवाइजहाजलाई हामी चङ्गा भन्थ्यौं । साइँला दाइले बनाएका चङ्गाहरू धेरै माथि जान्थे र धेरै बेर उड्थे । सुरुमा त लेखिसकेका कापीका पानाहरू दोबारेर आ-आफ्ना निम्ति चङ्गा बनाउँथ्यौँ । सधैँ झैँ उनले बनाएका चङ्गाहरू माथि र टाढा जान्थे । उनी चङ्गा उडाउनु अघि चङ्गामा मन्त्र फुक्थे र चुच्चोमा थोरै थुक्थे । तर मेरा चङ्गाहरू जति धेरै मन्त्र फुके पनि जति धेरै थुके पनि उनका जति टाढा मरिगए जाँदैन थे ।

 

केही दिन चङ्गा उडाएपछि लेखिसकेका कापीका पानाहरू सकिए । दाइले नलेखेका कापीका पानाहरू लिएर आए । हामीले मज्जाले चङ्गा बनाएर उडायौँ । नलेखेका कापीका पानाबाट मैले बनाएका चङ्गाहरू पहिलेका भन्दा माथि उड्थे । मलाई अति मजा लाग्थ्यो । केही दिन पछि ती नयाँ कापीका पानाहरू पनि सकिन्थे । साइँला दाइ न परे । समस्याको समाधान सजिलै निकाल्थे । पुराना किताबका पानाहरूबाट चङ्गाहरू बनायौँ र खुब उडायौँ । हामीले बनाएर उडाएका चङ्गाहरूले डाँडा सेताम्मै हुनेगरी ढाक्थे ।

 

अब पुराना किताबका पानाहरू पनि सकिए । परेवाको सूप र चङ्गा उडाउन पाइन्छ भनेर नै म उनीकहाँ जान्थेँ । पुराना कापी, नयाँ कापी र पुराना सबै किताबहरू सकिएपछि म घर जान्छु भनेर घुर्क्याउँथे । साइँला दाइ म घर नजाओस् भन्ने चाहन्थे । त्यसैले उनले तत्क्षण उपाय निकाले नयाँ किताबका चङ्गाहरू बनाउने र उडाउने ।

 

मलाई त्यो विचार ठिक लागेन तर पनि भित्र-भित्रै असाध्यै खुसी थिएँ । टिलिक्क टक्किने नयाँ किताबका पानाहरूका चङ्गा बनाएर उडाउँदा कस्तो होला ! दोधार भएँ । तर पनि नयाँ पानाका चङ्गा उडाउन पाउने कल्पनाले किताब च्यात्नुहुन्न भन्‍ने चेतनालाई जितेरै छाड्यो ।

 

साइँला दाइ नयाँ किताबका ठेली लिएर आए । हामीले धमाधम चङ्गाहरू बनाएर उडाउन थाल्यौँ । त्यतिबेला हामीले चङ्गा मात्र होइन, साइँला दाइको भविष्य पनि उडाएछौँ । सबै किताब र कापीहरू चङ्गा बनाएर उडाएपछि साइँला दाइ स्कुल जानै छाडे । उनले प्राथमिक तह पनि पुरा गरेनन् । यसको परोक्ष दोषी म आफूलाई पनि पाउँछु ।

 

चङ्गासँगै साइँला दाइको विद्यालयको शिक्षा पनि हावामा उड्यो ।

Advertisements

सेर बहादुर दाइ

ser dai

म करिब ८ वर्षको थिएँ, भारतले नेपालमा नाकाबन्दी गरेको बेला रहेछ । तर पाँचथरको सुदुर गाउँ थामथुममा भारतले नेपालमा हमला गर्ने र बम झार्ने हल्ला चल्यो । अझ बाले बाहिर भए ‘पानीमा’, ‘ओडारमा’, ‘रूखका पोथ्राहरूमा’ लुक्ने र घरभित्र भए बाहिर ननिस्कने आज्ञा दिएपछि त डरको सिमा नै थिएन ।

 

हामी केटाकेटीहरूकालागि शक्तिमान्, आइरनम्यान् जे भने पनि गोहार माग्‍ने एउटै व्यक्ति थिए ‘सेर बहादुर दाइ’ । केही व्यक्ति जीवित हुँदै मिथक बन्छन् । हाम्रा दाइ जिउँदो जाग्दो मिथक थिए । उडिरहेको चरा झार्ने, बन्दुकको गोली छेक्ने, कसैले खुकुरीले आक्रमण गरे खुकुरी नै समाउने अनि १० जनाले घेरेर समाते पनि उम्किन सक्‍ने भनेर गाउँमा हल्ला चल्थ्यो ।

 

अब हामीलाई भारतको ‘बम’ देखि बचाउने एउटै व्यक्ति थिए, सेर बहादुर दाइ । हामी ठिटाहरू पर्‍यौं उनकै शरणमा । उनी कति डराएका थिए वा पटक्कै डराएका थिएनन् त्यो त हामीलाई थाहा भएन । तर उनले यो समस्याको समाधान निर्धक्क निकालिदिए ।

 

‘नाथेहरू, तिमीहरू चिन्ता नगर आकासबाट खसालेको बमलाई निसाना लगाएर बन्दुक हानेपछि त्यो आकासमा नै पड्कन्छ र हामीलाई केही हुँदैन’, सेर बहादुर दाइले चम्किला आँखा पारेर भने ।

 

हामी फुच्चाहरूलाई त्यो कुराले यदि राहत दियो कि भनी साध्य छैन ।

 

हुन पनि सेर बहादुर दाइलाई नआउने कुरा पो के थियो? कम्युनिष्ट भएकोले गाउँलेहरूले बामे भन्थे । ठूला टारहरू भएका बारीहरूमा पहेंलै तोरी फुलाउँथे, थोरै भएको खेतमा धान फलाउँथे । परिश्रमी थिए ।

 

हामी केटाहरूलाई भेला पारेर कराँते सिकाउँथे । ल तिमी यो बेल्टमा पुग्यौ भन्थे, हामी गमक्क पर्थ्यौं । उनको कसरत गराउने काइदा पनि अनौठो थियो । आफ्नै टारबारीका डल्ला फोर्न लगाउँथे, मकै भाँच्न लगाउँथे र भन्‍थे यसो गर्‍यो भने बलियो भइन्छ । पाखुराहरू बलिया हुन्छन् । हामी पाखुराहरू बलियो बनाउने दाउमा ती सबै खुरुखुरु गर्थ्यौं ।

 

समयसँगै हामी ठूला भयौं, कताकता पुग्यौं । अहिले पनि सेर बहादुर दाइ गाउँमै छन् । अहिलेका केटाकेटीहरूले उनलाई कसरी हेर्दा हुन् थाहा छैन ।

 

उनलाई भेटेर यी सबै कुराहरू सम्झाउने मन छ, फेरि पनि ज्ञानगुनका कुराहरू र विगतका कथाहरू सुन्ने मन छ । समय पो कहिले मिल्ला …

अलविदा, माङ्‍कोडे दाइ!

उनी हाम्रा गाउँका एकमात्र अघोषित कमारा थिए । दास थिए । जसलाई जसले पनि काम लगाउन सक्थ्यो, केवल दुई छाक खानामा । उनको अनुहारमा सुन्दरताको एउटा लेश पनि बाँकि थिएन ।

manमाङ्‍कोडे दाइ हामी सबैका लागि अगम्य थिए । बुझ्‍नै कठिन पर्ने एक व्यक्ति । उनलाई हामीले जसरी चिन्थ्यौँ, त्यो त फगत बाह्‍य थियो । भित्र उनी अर्कै थिए । उनको विगत कसैलाई पनि थाहा थिएन । उनी आफैं पनि त्यो बताउँदैनथे । जे होस् उनी हामी बालबालिकाहरूका माझ चर्चित थिए । उनका धेरै विशेषताहरू थिए । ती मध्ये केही यस्ता थिएः

दुई छाक खानाको लागि बिहानदेखि बेलुकासम्म काम गरिदिन्थे ।

नयाँ नयाँ कागजी एक रुपियाँको नोटको साटोमा एक रुपियाँ पचास पैसा दिन्थे ।

वर्षमा एकपटक नुहाउँथे, दशैंको बेलामा ।

एकदमै रोमान्टिक थिए, आफ्ना प्रेमालापका उखान र कथाहरू निर्धक्क सुनाउँथे । भलै ती प्राय सबै बनावटी हुन्थे । उनलाई मन परेका केटी र महिलाहरूलाई आफ्ना कथाका हिरोइन बनाउँथे अनि वास्तविक जीवनमा  कथाका पात्रहरूले उनलाई बेस्मारी भकुर्थे झुटो कुरा गरेकोमा ।

महिना‍-महिनामा बफ मासु ल्याएर आँगनमा पकाउँथे र एक्लैले एक किलोजति मासु खान्थे ।

सुत्‍नको लागि कुनै पनि ओच्छ्यानको जरूरत पर्दैनथ्यो । जता पनि सुति दिन्थे ।

खुलेर हाँस्थे, उनको मुहारमा रिस र दुःखका भावहरू कहिले पनि देखिएनन् ।

उनी हाम्रा गाउँका एकमात्र अघोषित कमारा थिए । दास थिए । जसलाई जसले पनि काम लगाउन सक्थ्यो, केवल दुई छाक खानामा । उनको अनुहारमा सुन्दरताको एउटा लेश पनि बाँकि थिएन । उनको वास्तविक अनुहार कस्तो थियो, त्यो पनि राम्ररी देख्‍न पाइन्‍नथ्यो किनकि उनको अनुहारलाई मैलोको मुकुटले ढाकेको हुन्थ्यो । सम्पत्तिको नाउँमा शरीरमा लगाएका १० जोरजति लुगा र पटुकीमा पोको पारेका केही नोटहरू मात्र थिए । भएजति सबै लुगाहरू लगाउँथे ।

उनको नाउँ माङ्‍कोडे किन रहन गयो, कसैलाई पनि थाहा थिएन । तर शुरुमा हाम्रो गाउँमा आउँदा राई भाषामा मात्र कुरा गर्ने र त्यस भाषामा प्रयोग हुने कतिपय शब्दहरू माङ्‍कोडे जस्तै सुनिने हुनाले गाउँलेहरूले उनलाई माङ्‍कोडे नाउँले बोलाउन थालेका रहेछन् ।

तर बिडम्बना सबै गाउँलेका एकलौटे दास माङ्‍कोडे दाइ बुढेसकालमा बिरामी भएछन् । कसैले पनि वास्ता गरेनछ । काम गर्न नसकेपछि कसैले खाना पनि दिने कुरा भएन । भौकभौकै बिरामीले थलिएर अन्ततः एउटा चौतारोमा आफ्नो प्राण त्यागेछन् । यसरी आफ्ना सारा दुःखलाई त्यही चौतारोमा बिसाएछन् । ढोंगी समाजको निम्ति चुनौति दिँदै सदाको निम्ति एकैचोटी आँखा चिम्लिएछन् ।

अलविदा…माङ्‍कोडे दाइ ।

म ‘लिल्वाली’

आरन

उसको बुबा एउटा सानो कटेरोमा ‘आरन’ चलाएर बस्थे । गाउँभरका हँसिया, खुकुरी, खुर्पा, कोदालो, भाँडाकुँडा आदि बनाउने जिम्मा तिनकै थियो । साथीकी आमाले साथीलाई खाजा दिन्थिन् तर हामीलाई दिँदैनथिइन् । यो देखेर अचम्म लाग्थ्यो । साना भए तापनि हामीलाई तिनले ‘तँपाईं’ भनेर बोलाउँथिन् । 

मेरो नाउँको पछाडि ‘लिल्वाली’ जोडेको देखेर धेरै शुभेच्छुकहरूले मलाई सोध्नुभएको छ, “यो ‘लिल्वाली’ भनेको चाहिँ के होला?” कुनै पनि नयाँ शब्दको अर्थ र प्रकृतिको बारेमा जान्ने कौतुहलता हुनु स्वभाविक नै हो ।

सोध्‍ने व्यक्तिको यो शब्दको अर्थ र उत्पत्तिको बारेमा जानकारी राख्‍न खोजेपछि भने म अप्ठ्यारोमा पर्छु । जवाफको जटिलताको कारणले कदाचित होइन नकि यसको उत्पत्तिको लम्बेतान ऐतिहासिक पृष्ठभूमिको कारणले । भाषामा चासो भएका मानिसहरूले यसलाई प्रकृति‌+प्रत्यय, उपसर्ग र विग्रहजस्ता भाषिक सिपहरूको प्रयोग गरेर ‘लिल्वा‌+ली’, ‘लिला+वाली’, ‘लिल्वाल+ई’ तथा ‘लिला गर्ने व्यक्ति’ आदिको रूपमा अर्थ पहिचान गर्न खोज्‍नुहुन्छ । अरूले यसको उत्पत्तिलाई केलाउने प्रयास गर्नुहुन्छ, ‘सायद यो शब्द तत्सम् शब्द हुनुपर्छ । सायद, आगन्तुक पो हो कि?’ आदि आदि…

तर वास्तवमा ‘लिल्वाली’ हो चाहिँ के?

सायद म किशोरवयको हुँदो हुँ, हाम्रा गाउँमा एउटा परिवार बसाइँ सरेर आयो । समाज र परिवारका बुज्रुकहरूको कडा उर्दी आयो । तिनीहरूले छोएको खानुहुँदैन । तिनीहरू अछूत हुन् । धेरै संगत पनि गर्नु हुँदैन । हामीलाई डर लाग्यो । कस्तो परिवार रहेछ, त्यो?

केही समयपछि त्यस परिवारको जेठो छोरो हाम्रै कक्षामा भर्ना भयो । सफा-सुग्घर भएर आएको त्यो केटालाई देखेर हामीले अड्कल काट्यौँ । त्यो परिवार सुग्घरी भएको कारण त्यसो भनेको होला । विस्तारै हामी त्यो केटासँग नजिकियौँ । उसको घर गयौँ ।

उसका बुबा एउटा सानो कटेरोमा ‘आरन’ चलाएर बस्थे । गाउँभरका हँसिया, खुकुरी, खुर्पा, कोदालो, भाँडाकुँडा आदि बनाउने जिम्मा तिनकै थियो । साथीकी आमाले साथीलाई खाजा दिन्थिन् तर हामीलाई दिँदैनथिइन् । यो देखेर अचम्म लाग्थ्यो ।

साना भए तापनि हामीलाई तिनले ‘तँपाईं’ भनेर बोलाउँथिन् ।

गाउँलेहरूले त्यो परिवारलाई ‘लिल्वाली’ भनेर बोलाउँथ्यो । ‘लिल्वाली’ नाउँ गरेको खोलाको किनारबाट बसाइँ सरेर आएको कारणले त्यो परिवारलाई ‘लिल्वाली’ भनिएको रहेछ । त्यो परिवारले समाजबाट भोग्‍नु परेको तिरस्कार देखेर मलाई अचम्म लाग्थ्यो । आमा‍बुबा र समाजको आँखा छलेर मैले धेरै पटक त्यहाँ खाना खाएँ । थाहा पाएको बेला ‘सुन-पानी’ ले शुद्ध पनि पारिएको छु ।

यसले मलाई धेरै पोल्थ्यो तर मैले गर्न नै के सक्थेँ र! आफ्नो नाउँको पछाडि ‘लिल्वाली’ झुण्ड्याउने अनि ठुलो नाउँ कमाएर त्यो घृणित नाउँको सम्मान बढाउने ढृष्टता गरें।

न त म ठुलो मान्छे नै बनेँ, न त  त्यो नाउँको सम्मान नै बढ्यो । तर अहिले समय फेरियो । त्यस्ता काम गर्नेहरूको सम्मान केही हदसम्म भए पनि बढेको छ ।

केही वर्ष अघि सुनियो ‘लिल्वाली’ दाइ बितेछन् । तिनीसँगै ‘लिल्वाली’ विशेषण पनि गाउँमा सुनिन छाड्यो । अहिले बाँकी छ त केवल ती दाइको सम्झना र मेरो नाउँको पछि झुण्डिने ‘लिल्वाली’  ।

हनुमान सर

Image result for sanskrit

हामीलाई गुरु द्रोणचार्यको बारेमा बताउने उहाँ नै हुनुहुन्थ्यो, मलाई लाग्थ्यो गुरु द्रोणाचार्य सायद उहाँजस्तै थिए होलान् ।

“ए, हनुमान सर आयो”, यस्तै केही भन्थे साथीहरू । उहाँ गाता खुइलिएको संस्कृत किताब बोकेर कक्षामा आउनुहुन्थ्यो । उहाँलाई कक्षाको हालचालको बारेमा कुनै मतलब हुन्थेन । उहाँले आफूलाई ‘हनुमान सर’ भनेको सुन्‍नुहुन्थ्यो कि हुन्‍नथ्यो त्यो थाहा छैन । सायद सुन्‍नुहुन्थ्यो होला, तर उहाँको अनुहारको भाव सधैँ एउटै हुन्थ्यो ।

हामीले उहाँ हाँसेको वा रिसाएको  पटक्‍कै देखेनौँ । उहाँ हाम्रालागि पूर्णिमाको जून सरह हुनुहुन्थ्यो । प्रत्येक दुईहप्ता बिराएर कक्षामा उपश्थित हुनुहुन्थ्यो अनि थाल्‍नुहुन्थ्यो संस्कृतका श्लोकहरू भट्याउन । यसो गर्दा उहाँ कुनै महर्षिभन्दा कम लाग्‍नुहुन्‍नथ्यो । हामीलाई गुरु द्रोणचार्यको बारेमा बताउने उहाँ नै हुनुहुन्थ्यो, मलाई लाग्थ्यो गुरु द्रोणाचार्य सायद उहाँजस्तै थिए होलान् । संस्कृत बोल्ने, नहाँस्‍ने… ।

उहाँ विद्यालय नआएको बेला बेलुका गाउँमा गाइँगुइँ हल्ला चल्न थाल्थ्यो, ‘हनुमान सर त रक्सी खाएर बाटोमा सुतिरहेका छन् रे’, अर्को हल्ला चल्थ्यो, ‘हनुमान सरले पाइन्टमै दिसा गरेछन्’ । सायद उहाँ दुई हप्ता पढाइसकेपछि दुई हप्ता यस्तै कुनै तपस्यामा लाग्‍नुहुन्थ्यो होला । तर विद्यालय आउँदा उहाँ कहिले पनि मातेर आउनुभएन ।

उहाँको नाम ‘हनुमान सर’ किन रहनगयो मलाई थाहा भएन । उहाँको ठूलो ज्यानले पो हो कि ? सायद उहाँले संस्कृतका श्लोकहरू भट्याएको देखेर रामभक्त हनुमानको उपमा पो दिइएको हो कि? कि त उहाँको मुखाकृति अलिक चुच्चो परेकोले पो हो कि?

हामीलाई उहाँको मुख अलिकति चुच्‍चो त अवश्य नै लाग्थ्यो, तर त्यो वास्तवमै चुच्चो थियो कि  उहाँले बनाउनुभएको हो थाहा भएन । उहाँको एउटा अलौकिक खुबी थियो, ‘बलबान छाप’ लेखिएको एउटा बट्टा निकाल्नुहुन्थ्यो र त्यस बट्टामा भएको सबै कुरा हातमा खन्याउनुहुन्थ्यो र एकै गाँस पारेर मुखमा हाल्नुहुन्थ्यो । त्यति बेला फेरि उहाँ ध्यानमा पुग्‍नुहुन्थ्यो । उहाँको अनुहार चम्किलो हुन्थ्यो र पूर्ण सन्तुष्टिका साथ मुखमा यताउता खेलाउनुहुन्थ्यो । उहाँको सन्तुष्टि देखेर मलाई अपार आनन्द हुन्थ्यो । यसरी मुखभरी त्यो वस्तु राखेर बोल्नुपर्दा उहाँको अनुहार चुच्चो परेको हुनसक्छ सायद ।

उहाँको सन्तुष्टि र आनन्दले मलाई अलि बढि नै लोभ्याउँथ्यो । एकदिन मैले पनि पिताको घरेलु पसलबाट एउटा ‘बलबान छाप’ लेखिएको त्यो बस्तु निकालेर एकै गाँस बनाएको थिएँ । त्यो बट्टाभित्रको वस्तु सुगन्धित थियो । मुखमा हाल्‍ने बित्तिकै मेरो मथिङ्गल रिङ्गायो, वाकवाक लाग्यो, केही क्षणपछि होस नै ठेगानमा आएन । पछि थाहा भयो त्यो डरलाग्दो वस्तुलाई खैनी भन्दा रहेछन् ।

त्यस घटनापछि मैले ‘हनुमान सर’ लाई एउटा महान् व्यक्तिको रूपमा हेर्न थालेँ । मलाई बिरामी बनाउने त्यो वस्तुले उहाँलाई सन्तुष्‍टि दिन्थ्यो ।

प्राथमिक तहको शिक्षा पुरा गरी अर्को विद्यालयमा गएपछि उहाँसँग भेट हुन पाएन । तर उहाँसँग सम्बन्धित किस्साहरू गाउँमा चलिनै रह्यो । केही समयपछि ती किस्साहरू पनि कम हुन थाले । उहाँ अर्कै विद्यालय सरुवा भएर जानुभएछ । पछि वन विभागले राखेको सामूदायिक वन तालिममा पुनः उहाँसँग भेट भयो । उहाँले त्यहाँ पनि मलाई छक्कै पार्नुभएको थियो । उहाँले सुकिला कपडा लगाउनुभएको थियो, उहाँको मुख चुच्चो थिएन । बोलि पनि फरक थियो । मलाई लाग्यो उहाँले पढाउने भगवानका अनेकौँ अवतारहरूझैँ उहाँको पनि अवतार भएछ ।

त्यसपछि उहाँसँग भेट हुन पाएन । अहिले उहाँको हालखबर के छ, त्यो पनि थाहा छैन । तर मेरा प्यारा शिक्षकहरूलाई सम्झँदा उहाँको सम्झना आइरहन्छ । उहाँ हामीलाई नैतिक शिक्षा दिनुहुन्थ्यो, तर खैनी र रक्सी खानुहुन्‍न भनेर कहिल्यै सिकाउनु भएन । उहाँले लुकिछिपी केही पनि गर्नुभएन, खैनी खाँदा ध्यानमा बसेजस्तो गर्नुहुन्थ्यो र रक्सीले सबै दुनिया भुलेर तपस्यामा लीन हुनुहुन्थ्यो ।

एउटा शिक्षकको रूपमा ‘हनुमान सर’ कहिल्यै पनि अनुकरणीय हुन सक्‍नु भएन । उहाँका ती दुई लतहरू हटाइदिने हो भने उहाँ साँच्‍चै अनुकरणीय ‘हनुमान सर’ बनेर रहनुहुन्थ्यो ।